बार्सिलोनाको कमजोर प्रदर्शन जारी, रोकियो बराबरीमा

रामेछाप खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली ओसासुनासँग बराबरीमा रोकिएको छ । एल सरदार स्टेडियममा दुवै टोलीले २-२ को बराबरी खेलेका हुन् । सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो। बार्सिलोनाका लागि निको गोन्जालेज र एब्डेसामद इजालजुलीले गोल गर्दा घरेलु टोलीका डेभिड गार्सिया र इजिक्वेल एभिलाले गोल फर्काए ।

खेलको १२ औं मिनेटमा गोञ्जालेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाको यो अग्रता लामा समयसम्म टिक्न भने सकेन १४ औं मिनेटमा गार्सियाले ओसासुनाका लागि बराबरी गोल फर्काए । ४९ औं मिनेटमा इजालजुलीले गोल गर्दा बार्सिलोना २-१ ले अघि बढ्यो । ८६ औं मिनेटमा एभिलाले गोल गरेपछि रोमाञ्चक बनेको खेल २-२ को बराबरीमा सकिएको हो ।

यो नतिजासँगै बार्सिलोना १६ खेलमा २४ अंक जोड्दै आठौ स्थानमा रहँदा ओसासुना १७ खेलबाट २२ अंकका साथ दसौं स्थानमा छ ।

इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लियो

इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति काग्लियारीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै इन्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो। एसी मिलानले शनिबार युडिनेसीसँग अंक बाँड्दै शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाउँदा इन्टरले त्यसको फाइदा उठाउन सफल भयो।

इन्टरको जितमा लाउटारो मार्टिनेजले दुई तथा सान्चेज र हकानले १-१ गोल गरे। खेलको २९ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाए। खेलको ४४ औं मिनेटमा मार्टिनेज पेनाल्टीको सदुपयोग गर्न चुक्दा इन्टरले पहिलो हाफमै अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

५० औं मिनेटमा सान्चेजले इन्टरको अग्रता दोब्बर पारे। ६६औं मिनेटमा हकान चालहानोग्लुले गोल गर्दै इन्टरलाई ३-० गोल अन्तरमा अगाडि बढाए। त्यसको दुई मिनेटपछि मार्टिनेजले इन्टरका लागि चौथो गोल गर्दै सहज जित दिलाए। जितसँगै इन्टरको १७ खेलमा ४० अंक भएको छ । दोस्रो स्थानको एसी मिलानको ३९ अंक छ।