कांग्रेस नेतालाई पाँच हजार जरिवाना हुनसक्ने चेतावनी, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४औं महाधिवेशन चलिरहेको छ।  २४ मंसीरमा शुरू भएको महाधिवेशनकाे भाेलिपल्ट अर्थात शनिबार उम्मेदवारी मनोनयनको कार्यतालिका थियो। उम्मेदवारहरूले चाहिं त्यसअघिबाटै विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेर आफ्नो प्रचार शुरू गरेका थिए। 

मनोनयनसँगै यो क्रमले झन् व्यापकता पाएको छ। अहिले महाधिवेशनस्थल वरपर मात्रै होइन, काठमाडौंका अधिकांश स्थानमा उम्मेदवारहरूका प्रचार सामग्री टाँगिएका देखिन्छन् । तर, यी सामग्री चाहिं महानगरको अनुमति विना राखिएका हुन्। 

काठमाडौं महानगरपालिकाका निर्देशक महेशकुमार काफ्ले कुनै पनि नेताले होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री राख्न अनुमति नलिएको बताउँछन्। “प्रचार सामग्री राख्न कसैले पनि महानगरबाट अनुमति लिनुभएको छैन,” उनी भन्छन्, “अनुमति नै नलिएकोले त्यसको कर तिर्ने त कुरै भएन।” 

विज्ञापन कर निर्देशिका, २०६४ अनुसार यसरी अनुमति विना जथाभावी होर्डिङ बोर्ड राख्दा महानगरले हटाउन सक्ने र पाँच हजारसम्म जरिवाना तिराउन सक्छ । तर, महानगरले त्यो हिम्मत भने देखाउन सकेको छैन । निर्देशक काफ्ले जथाभावी भएको देख्दा पनि निर्देशिका अनुसार, अगाडि बढ्न नसकेको स्वीकार गर्छन् । उनी भन्छन्, “कारबाही त हुनुपर्ने हो तर, गर्न सकिएको छैन ।” 

त्यसो त, कांग्रेसको निर्वाचन आचारसंहिताले पनि महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालयको ५०० मिटर आसपास प्रचारजन्य सामग्री राख्न रोक लगाएको छ। तर, सबैभन्दा धेरै बोर्ड यही क्षेत्रभित्र राखिएका छन्। 

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप, मतदानस्थल राष्ट्रिय सभागृहको प्रवेशद्वारमै ठूल्ठूला बोर्ड देखिन्छन्। अत्याधिक बोर्ड राखिएका पुरानो बसपार्क र भद्रकाली नजिकको पुल पनि महाधिवेशनको निर्वाचन आचारसंहिताले छुने क्षेत्रभित्रै पर्छन्।  

हिमालखबर