रुँदै मैदान छोडेका रामचन्द्र पौडेललाई भेटेर जब देउवाले यसो भने

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका छन् । शनिबार राति पौडेल निवास बोहोराटर पुगेर देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ’ भन्दै राजनीतिबाट बाहिर जाने कुरा नगर्न आग्रह गरेका हुन् ।

१४औं महाधिवेशनबाट पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट आफू अलग रहने भन्दै पौडेलले शनिबार विज्ञप्ति निकालेका थिए । पौडेललाई भेट्न निवास पुगेका देउवालाई महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरित अस्वस्थ्य प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।

पौडेलले महाधिवेशनलाई स्वस्थ्य प्रतिस्पर्धामा रहेका सबैलाई कांग्रेसलाई कांग्रेस जस्तो बनाउन आग्रह समेत गरेका थिए ।

सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।