देउवाले भने- ‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन्। आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन्।

‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन्। त्यसैले मैले जित्नैपर्छ, जित्न आवश्यक छ। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने।

आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता व्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनुहोला। विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो। अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ।

उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो, १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि आइतबार बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो। अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

उम्मेदवारी फिर्ता गर्न चाहनेको संख्या ठूलो भएकाले समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । समितिका अनुसार दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ ।