तीन लाख लगानीबाट कुखुरापालनको सुरुआत, रु २० लाख नाफा

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुगे। पाँच वर्ष विदेश बसे पनि उनले सोचे जस्तो पैसा कमाउन सकेनन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उनले व्यवसाय गर्न ऋण काढ्नतर्फ लागे ।तर, ऋण नपाएपछि चौधरी फेरी कतार पलायन भए ।

कतार पुगेपछि कोरोना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उनले भने, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गरे । दुईवटा फार्म बनाएर उनले कुखुरापालन गर्न थाले । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उनले भने, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”

फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताए । दुई फार्ममा उनले सात हजार कुखुरा पाल्दै आएका छन् । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गरेका छन् । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उनले भने । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी छन् ।