कोरिया रोजगारीमा जाने कामदारले होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागू गर्न झन् कठिन हुन थालेको छ ।
जिटुजी (नेपाल–कोरिया सरकारमार्फत जाने) सम्झौता रहेको कोरिया रोजगारीमा जाने कामदारले पछिल्लो समय होटल क्वारेन्टाइन खर्चसमेत बेहोर्नु पर्ने भएको छ ।

रोजगारीका लागि कामदारले नै सम्पूर्ण होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने भएपछि बिहीबार नेपाल राष्ट्र बैंकले कोरिया जाने कामदारलाई एक हजार पाँच सय अमेरिकी डलरको सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । जबकि अन्य गन्तव्य मुलुकमा जाने श्रमिकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउँछन् ।

कोरोनाका कारण क्वारेन्टाइन खर्चबापत थप व्यवस्था गर्नुपर्ने व्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार एक हजार पाँच सय अमेरिकी डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउन केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ ।

दक्षिण कोरियाले २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने

दक्षिण कोरियाले सन् २०२२ का लागि ६६ हजार विदेशी कामदार लैजाने भएको छ । ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुनेछन् । शुक्रबार बसेको विदेशी कामदार पोलिसी निर्धारण समितिको बैठकले कोटा तोकेको हो ।

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार दक्षिण कोरियाले भाषा परीक्षा गरेका नयाँ र कोरियामा ४ वर्ष १० महिना काम गरी फर्केर स्पेशल भाषा परीक्षा ९सिबिटी० परिक्षा उत्तीर्ण दुबै तर्फका भएको बताइएको छ ।

लगिने ६६ हजार विदेशी कामदारमध्ये कोरीयाले उत्पादनमूलक क्षेत्रमा ४३, कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालनमा ४ हजार ६ सय ४० र निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना छुट्याइएको हो । नेपालबाट जाने कामदार उत्पादनमूलक र कृषिक्षेत्रमा दक्षिण कोरिया जाने गरेका छन् ।
file photo