माओवादी केन्द्रको प्रदेश सम्मेलनमा आज बन्दसत्र र उम्मेदवारी दर्ता

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनमा आज बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गरेको प्रदेश सम्मेलनको बन्दसत्र बन्दसत्र र उम्मेदवारी दर्ता आज हुन लागेको हो।

माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ। प्रदेश नम्बर २ को पालिका अधिवेशन वाँकी रहेकाले पुस ३ गतेमात्र निर्वाचन हुने केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठको भनाई छ। माओवादी केन्द्रका अनुसार आइतवार प्रदेश २ बाहेक अन्यत्र बन्दसत्र हुँदै छ।

बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन्। सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ। यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ।

उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने समय बढाइएको छ। यसअघि कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। यसलाई बढाएर १२ः३० बजेसम्म तोकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए।

उम्मेदवारी लिनेको संख्या बढ्दै गएपछि समय बढाइएको जनाइएको छ। विशेष गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेताहरूले फिर्ता लिइरहेका छन्।
कांग्रेसको १३४ सदस्यीय केन्द्रीय कमिटीका लागि ५४८ जनाले उम्मेदवारी दिएका थिए। जसमा सभापतिका लागि ६, उपसभापतिका लागि ६ र महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, सहमहामन्त्रीका लागि २० जनाको उम्मेदवारी परेको छ। कांग्रेसका १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यसूची रहेको छ।