सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गयो, ८ जना घाइते

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

भालुको आक्रमणबाट दुई जना घाइते, पहिचान नखुलेका पुरुष मृतावस्थामा

जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द छन् ।

शनिबार दिउँसो घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पहिचान नखुलेका पुरुष मृतावस्थामा
नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् ।

शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने उनलाई सबैले ‘राई दाइ’ भनेर सम्बोधन गर्ने बताइएको छ ।