सबै क्षेत्रमा विदेशी कामदार लैजाने मलेसियाको निर्णय

रामेछाप खबर संवाददाता

२५ मंसिर, काठमाडौं ।

मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो ।

मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्ने बताएको छ ।

नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।

एनआरएनए निर्वाचन आयुक्तले दिए राजीनामा

गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले बार एसोसिएसनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।

पौडेल नेपाल बार एसोसिएसनका महासचिव हुन् । पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।

गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ । निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता १६ डिसेम्बरसम्मका लागि सरेको छ । संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको हो ।

निर्वाचनको लागि डिसेम्बर १६ तारिख बिहान १० बजे देखि १७ तारिख बिहान १० बजेसम्म उम्मेदवारी गर्दा गर्ने समितिले जनाएको छ ।