वैदेशिक रोजगारीको सिलसिलमा अब लुटिने र ठगिने दिन गए : मन्त्री श्रेष्ठ

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् । विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु , उन्मुक्ति दिइने छैन । ठगलाई तह लगाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उहाँले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसो नगर्न आग्रह गर्नुभयो । विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यासनगरपालिका–५ बेनीपाटनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक विदेश पवन चुमी थापा मगरले जानकारी दिनुभयो । करिब रु ५५ लाखको कारोबार हुने र रु ४८ लाख खर्च कटाएर रु सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ ।

संस्कृतिले समाजलाई एकताबद्ध गर्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मुलुकमा सबै जाति समुदायका पर्व तथा संस्कृतिले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सवको उद्घाटनमा मन्त्री आलेले सबै जातिका मौलिक परम्पराका साथै भाषा, संस्कृतिलाई संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विभिन्न रिति रिवाज तथा संस्कृतिले तामाङ समुदाय भरिपूर्ण रहे पनि उनीहरूका शिक्षा, स्वास्थ्यलगायत जीवनस्तर सुदृढ हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले देशमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिले राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा गौरब बढाएकाले उनीहरूका परक संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

युवा सङ्घ स्थायी समिति सदस्य विजय लामाले राष्ट्रलाई सांस्कृतिकरूपमा धनी बनाउन तामाङ जातिको सेलो नृत्य, गायन, वेषभूषाको विशेष महत्व रहेको उल्लेख गर्दै यीनलाई संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । चुच्चेपार्टीस्थित हायत होटेलपरिसरमा दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ संस्कृति तथा खानपिनका १५ कक्ष राखिएका छन् ।