राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउनु पर्छ : अध्यक्ष लिङ्देन

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

फाइल फोटो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अब देशमा राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउन प्रस्ताव गरेका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं । त्यसपछि राजनीति ठीक बाटोमा आउँछ ।’

यस अगाडि उनले देशको राजनीति लिकबाहिर पुगेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताएका थिए । उनले सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो नभएको टिप्पणी गरे ।

सबै नेताहरुले विश्वास गुमाएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले भनेका छन्, ‘सबै कुरालाई ठीक लगाउनुपर्ने राजनीतिले हो । तर, राजनीति नै ठीक ठाउँमा छैन । नेताहरूले विश्वास गुमाएका छन् । कांग्रेसको महाधिवेशनले नेतृत्वको विग्रेको छवि सुधार्ने अवसर जुराओस भन्ने शुभकामना छ ।’

पार्टीलाई एकताबद्ध बनाउन अन्याय सहेर योगदान दिएको छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आफूले अन्याय सहेर योगदान दिएको बताएका छन् । १४औँ महाधिवेशन उद्घाटन समारोहमा उनले नेतृत्व छान्दा टाढा वा नजिकको भनेर नहेर्न आग्रह समेत गरे ।

“पाटीभित्र को टाढा र को नजिक भन्ने होइन । पार्टीभित्र जहिले पनि एकताको लागि लडेको छु । एकताका लागि आफूले अन्याय सहेर पनि एक बनाउन योग्दान दिएको छु ,” उनले भने ,“म जहिले पनि मध्यमार्गी पार्टीलाई कसरी स्वच्छ बनाउने ? कसरी निस्कलंक छविको बनाउने ? प्रतिपक्षीहरूसँग सैद्धान्तिक बहस गरेर कम्युनिस्टलाई कसरी छेउ लाग्ने बनाउने भन्ने छ ।” उनले आफ्नै एजेन्डाले अघि बढ्न सक्ने बताए ।