प्रचण्डसँग माधव नेपाल र ओली लामो समयपछि एउटै मञ्चमा देखिँदै

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

फाइल तस्बिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लामो समयको अन्तरालमा एउटै मञ्चमा देखिने भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा तिनै जना नेता उपस्थित हुने भएका छन्।

कांग्रेस महाधिवेशन उद्घाटन दिउँसो १ बजे तय गरिएको छ। ओली सामान्य अस्वस्थ भए पनि कार्यक्रममा उपस्थित हुने बताएको महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा चलेको विवादपछि ओली र प्रचण्ड एकसाथ देखिएका छैनन्। उनीहरु सँगै नदेखिएको एक वर्ष पुगेको छ।

नेकपा विघटनपछि सोही विवाद एमालेमा कायम रहँदा टाढा-टाढा हुँदै फरक पार्टी निर्माण गरेका माधव नेपालसँग समेत ओली पाँच महिनापछि एउटै मञ्च सेयर गर्नेछन्। नेपालको दल नै अवैधानिक रहेको भन्दै ओलीले एमालेको १० औं महाधिवेशन निम्तो नै दिएका थिएनन्।

प्रचण्डलाई निम्तो दिएपनि उनले आफू उपस्थित नभएर स्थायी कमिटी सदस्य लिलामणि पौडेललाई पठाएका थिए। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हेलिकोप्टर लिएर आफैं एमालेको महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका थिए।

कांग्रेसको १४औँ महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।

भृकुटीमण्डपमा चहलपहल बढेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको तर प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आउने कार्यकर्ता भने सहभागी हुने उहाँले बताउनुभयो । मञ्च बाहिर ठूला पाँच वटा डिस्प्ले राखिएको छ ।