कट्रीना र विक्कीको हनीमून माल्दिभ्स

रामेछाप खबर संवाददाता

२४ मंसिर,मुम्बई।

बलिउडका एक जोडी प्रेमी–प्रेमिका बिहिबार विवाह बन्धनमा बाँधिएका छन् । योसंगै उनीहरुको सम्बन्ध जन्मौं–जन्मको भएको छ ।बलिउडका मायालु जोडी विक्की कौशल तथा कट्रीना कैफ बिहिबारदेखि श्रीमान–श्रीमती बनेका छन् । यो जोडीको वैवाहिक समारोहका तस्बिरहरु बिहिबार रातिदेखि नै सामाजिक सञ्जालमा सार्वजनिक भैरहेका छन् ।

यसैबीच, विक्की र कट्रीना आज शुक्रवार हनीमूनका लागि माल्दिभ्स प्रस्थान गर्ने समाचार सार्वजनिक भएको छ । उनीहरुका नजिकका नातेदारका अनुसार कट्रीना र विक्की आज शुक्रवार दिउँसो १ बजेसम्म कलीना एयरपोर्ट पुग्दैछन् । त्यहाँबाट उनीहरु आफ्नो हनीमूनका लागि सोझै माल्दिभ्स प्रस्थान गर्नेछन् । यसक्रममा उनीहरु मुम्बई विमानस्थलबाट बाहिर समेत निस्कने छैनन् ।

बिहिबार राति विक्की र कट्रीना दुबैले आफ्ना इन्स्टाग्राममार्फत विवाहका तस्बिरहरु सार्वजनिक गरेका छन् । विवाहको रातो पहिरनमा कट्रीना निकै सुन्दर देखिएकी छिन् । कट्रीनाले विवाहमा रातो लेहेंगा, टीका, नथिया, चोक नेकपीससहित श्रृंगारका सबै एक्सेसरीजहरु लगाएकी थिइन् । यो नवविवाहित जोडीलाई यतिबेला सामाजिक सञ्जालमा वधाइको ओइरो लागेको छ ।

यसैबीच, हनीमूनबाट फर्किएपछि उनीहरुले मुम्बईमा रिसेप्सन दिने बताइन्छ, जहाँ बलिउडका लोकप्रिय अनुहारको उपस्थिति रहने छ ।