सिटौला पनि देउवातिर ढल्किए पछि, पौडेल समूहमा रडाको

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला सभापति शेरबहादुर देउवा समूहतिर ढल्किएका छन् । उनले चुनावी प्रक्रियामा देउवालाई सघाउने गरी समझदारी बनेको नेताहरुको भनाइ छ । विभिन्न चरणमा भएको छलफलमा सिटौला देउवालाई सघाउन राजी भएका हुन् । सोही अनुसार सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले महाधिवेशनमा आफूले कसलाई सघाउने भन्नेबारे स्पष्ट खुलाएनन् तर युवाको प्रतिनिधित्व गर्दै आजकै दिनदेखि आफूले प्रदीप पौडेललाई अघि सारेको बताए । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले साथ छाडेपछि पौडेलको इन्ट्री भएको हो । यद्यपि सिटौलाले आफू जहाँ हुन्छु मुल पार्टी पनि त्यही हुने बताएका छन् ।

यता काँग्रेसको रामचन्द्र पौडेल पक्षमा रडाको देखिएको छ। उम्मेदवारी चयनका लागि विगत केही दिनयता नेताहरु निरन्तर छलफलमा रहेपनि मुलतः प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा दावी नछाड्ने बताएपछि सो समूहमा रडाको देखिएको हो । यही अवस्था रहे पौडेल समूह छिन्नभिन्न रहन सक्ने पौडेल समूहले नै बताउन थालेका छन् । आज पनि पौडेल समूहले सहमति जुटाउन प्रयास गर्ने बताइएको छ। काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ताको कार्यसुची रहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन भने शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।

काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । हालसम्म देउवासहित विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै रामचन्द्र पौडेल समूह पनि साझा उम्मेदवार तय गर्न प्रयासरत छ । कांग्रेस महाधिवेशनको प्रमुख समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छः
लोकान्तर संवाददाता