पूर्व डिआईजी रमेश खरेलले नयाँ पार्टी गठनको घोषणा गर्दै, के हो पार्टीको नाम ?

रामेछाप खबर संवाददाता

२३ मंसिर, काठमाडौं ।

फाइल फोटो
नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले नयाँ पार्टी गठन गर्ने भएका छन् । उनले शुक्रबार औपचारिक रुपमा ‘नेपाल सुशासन पार्टी’ गठनको घोषणा गर्ने भएका हुन् । यसअघि उनले ‘नेपाल सुशासन अभियान’ नामबाट अभियान सञ्चालन गर्दै आइरहेका थिए । शुक्रबार अपराह्न साढे ३ बजे अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने कार्यक्रम खरेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

नेपालीको मर्म बुझ्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्नसक्ने तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न लागिएको खरेलको भनाइ छ । नेपाल प्रहरीको महानिरीक्षक बन्न नसकेपछि २८ चैत २०७४ मा प्रहरी संगठनबाट राजीनामा दिएका उनी पछिल्लो समय राजनीतिमा सक्रिय भएका हुन् ।

कांग्रेस नेता महादेव गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरूङले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल तरूण दलका पूर्व अध्यक्षसमेत रहेका गुरूङले आज उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेस संस्थापक विपि कोइरालाका अनुयायी गुरूङले आफ्नो उम्मेदवार सार्वजनिक गर्दै नेपाली कांग्रेसलाई विपिको विचारमा ल्याउन लड्ने प्रतिवद्धता जनाए ।

उनले करिब ४५ वर्ष कांग्रेसको राजनीति गरेका छन् । पार्टी एकढिक्का हुनुपर्छ र पार्टी विधि विधान अनुसारमात्र सञ्चालन हुनुपर्छ भन्दै उनी कुनै पनि नेताको पछि लागेनन्, कुनै पनि गुटमा सामेल भएनन् । गुरुङ पार्टीका असल, निष्ठावान र ईमान्दार नेताका रुपमा परिचित छन् । साथै युवा र सबै तहका नेता, कार्यकर्ता माँझ उनी लोकप्रिय पनि छन् । नेता गुरुङ जिविस कास्कीका पूर्व सभापति समेत हुन् ।

उनले युवालाई एकीकृत बनाउँदै पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पनि युवालाई नै पुर्याउने योजना बनाएका छन् । उनी पार्टीको १३ औं महाधिवेशनमा जनजाति कोटाकोतर्फबाट केन्द्रीय सदस्य पदमै चुनाव लडेका थिए । गुरुङ २०३९ सालमा नेविसंघको महामन्त्री र २०५८ सालमा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेका थिए । उनी २०५६ सांसद र २०५७ सालमा राज्यमन्त्री बनेका थिए ।

कांग्रेस पार्टीलाई अझ सशक्त, सबल, सुदृद्ध र एकतावद्ध बनाउन आफूले सक्दो भूमिका खेल्ने उनको प्रतिवद्धता छ । नेपाली कांग्रेसले विपिको विरासत र विचार बिर्सिएको भन्दै नेता गुरूङले कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको बाटोमा ल्याउन पनि आफ्नो उम्मेदवारी रहेको तर्क गरे ।

भ्रष्टाचार विरोधीको छवि बनाएका नेता गुरूङले कांग्रेस शुद्धिकरणको अभियान पनि आफ्नो मूल मुद्दा रहेको बताए । कास्की क्षेत्र नं. ३ बाट महाअधिवेशन प्रतिनिधि निर्वाचित नेता गुरूङलाई कांग्रेसका संस्थापक विपि कोइराला, गणेशमान, सुर्वण शम्शेर, गिरिजादेखि सुशिलमात्रै होइन वर्तमान सभापति शेरबहादुर देउवाले समेतले जुझारू संगठकका रुपमा चिन्छन् ।