पौडेलको आक्रोस : नमिल्ने हो भने म राजनीतिबाट सन्यास लिन्छु

रामेछाप खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

सबै मिलेर आए सभापतिको दाबी छाड्न तयार भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने हो भने राजनीतिबाटै सन्यास लिने बताएका छन् । साझा उम्मेदवार तय गर्न बुधबार चाक्सीबारीमा बसेको बैठकमा आफू पनि नमिल्ने र अरुलाई पनि नछोड्ने भए राजनीतिबाट नै सन्यास लिएर घरमा बस्ने पौडेलले बताएको नेपाली कांग्रेसका वरिष्ठ नेता डा रामशरण महतले जानकारी दिए।

संस्थापनइतर समूहले आज पनि पार्टी सभापतिका लागि साझा उम्मेदवार बनाउन अझै बनाउन सकेको छैन ।

साझा सभापति चयन गर्न पौडेल पक्षधर समूहले विहान बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड र दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेको थियो । तर आजको बैठक निष्कर्षविहीन बनेको छ । सहमतिका लागि भोलि बिहान पुनः बैठक बस्ने जनाइएको छ ।

कांग्रेस महाधिवेशन आचारसंहिता : मोबाइल निषेध, प्रचार सामग्री टाँस्न रोक

आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको छ ।

आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नु पर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपिल वितरण गर्न सकिने आचारसंहितामा उल्लेख गरिएको छ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह / भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धित स्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री : व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादी टास्न एवं माइकिङ्ग गर्नसमेत मनाही गरिएको र यस प्रकारका प्रचार सामग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचारसंहितामा उल्लेख गरिएको छ ।

निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र (भृकुटी मण्डप / राष्ट्रियसभा गृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचारसंहितामा उल्लेख गरिएको छ ।