अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, उच्च मनोवल राख्नुहोस् ।

रामेछाप खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस् । मेरो साथ तपाईंहरूलाई छ।’

रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो । जितिनँ । त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन ।’

चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ । ‘मैले नैतिकरुपमा हारेँ भन्ने मेरो मनमा छैन,’ रावलले भने, ‘मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन ।’ अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताए ।

कलाकार जाेगिन्दर कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन् ।मंगलबार सर्लाही ४ काे गोडैता नगरपालिका-५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएकाे थियाे ।

उनी बरहथवा नगरपालिका-१५ निवासी हुन् । दोस्रोपटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्’ रिजालले भने । उनले १४औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए ।

‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रूपमा राख्न सक्छौ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ’ उनले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका रिजाल सर्लाही क्षेत्र नम्बर ४ बाट क्रियाशील सदस्य छन् ।