भारतीय सेनाप्रमुख चढेको हेलिकप्टर दुर्घटनाका केहि मनै रुवाउने तस्विरहरु

रामेछाप खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई-१७ बी ५ तमिलनाडुको कुनुर दुर्घटनामा भएको सम्बन्धमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्।

रावत भारतीय वायु सेना अर्थात इन्डियन एयर फोर्स-आईएएफको हेलिकप्टरमा सवार थिए। सुलुरस्थित आर्मी बेसबाट उडेको केही समयमै विमान दुर्घटना भएको थियो। दुर्घटनामा भएको मानवीय क्षतिबारे विस्तृत जानकारी आइसकेको छैन। दुर्घटना स्थानीय समयअनुसार दिउँसो १२ बजे भएको थियो।

भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा परेकामध्ये तीन जनालाई नजिकैको अस्पतालमा लगिएको छ। तर, उनीहरुको पहिचान खुलाइएको छैन। भारतीय वायु सेनाका अनुसार दुर्घटनाको अनुसन्धानको आदेश दिइएको छ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ-(सीडिएस) हुन्। स्थल, जल र बायु सेनालाई संयुक्त नेतृत्व गर्ने गरी भारतले सीडिएसको अवधारणा अगाडि सारेको थियो। सिडिएस हुनुअघि उनी तीन वर्ष भारतको स्थल सेनाध्यक्ष रहेका थिए। रावत सन् २०२० को जनवरी १ तारिखदेखि सीडिएस छन्।