विदेश जान लागेका ७६ यात्रुलाई विमानस्थलबाट किन फर्काइयो? यस्तो भन्छ अध्यागमन विभाग

रामेछाप खबर संवाददाता

२१ मंसिर, काठमाडौं ।

ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।

“केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् ।

उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,” शाहीले थपे ।

उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।

अमेरिकालाई चीनकाे चेतावनी : ‘शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्नेछ’

अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि यसबारेमा चीनले प्रतिक्रिया दिएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनु पर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।

चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ ।

अमेरिका केवल बेइजिङ शीतकालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।

चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदाे वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पार्नुभएको छ ।