मन्त्री रामकुमारी झाँक्रीको रिर्सोटमा एक रातको बिल तीन लाख ! कोको गएका थिए ?

रामेछाप खबर संवाददाता

२१ मंसिर, काठमाडौं ।

आफूले भनेकै सचिव पाएपछि शहरी विकासमन्त्री रामकुमारी झाक्री सचिवसहित रिर्सोटमा पुगेको समाचार अहिले भाइरल भएको छ । काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरभित्र रहेको प्रकृति रिसोर्टमा शुक्रबार साँझ झाँक्रीले मन्त्रालयका सचिव मनिराम गेलाललाई लिएर बास बस्न पुगेको समाचार भाइरल भएको हो ।

उत्त, रिर्सोटमा झाँक्री, गेलाल सहित मन्त्रालयका सह–सचिव रामचन्द्र दंगाल, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धत तिमिल्सिना, महानिर्देशक दिलिप भण्डारी लगायत करीव डेढ दर्जनको भिआइपी टिम पुगेको थियो ।

त्यो टिम शुक्रबार साँझ त्यही बस्यो । शनिबार बिहान अबेर मात्र त्यहाँबाट निस्क्यो । रातभर नाचगान र खानपिन चल्यो । बेलुकाको विल तीन लाख उठेपछि, त्यसको सबै खर्च रमन कन्ट्रसनको मालिक ठेकेदार पवन महतोले व्यहोरेको उच्च स्रोतको भनाइ छ । टिममा मन्त्री झाक्रीले आफ्नो पति पशुपति पुरीलाई पनि लगेकी थिइन् । पशुपति उप–सचिव हुन् ।

रामकुमारीलाई खानपिन गराउनुमा ठेकेदार पवनको ठूलो स्वार्थ छ । शहरी विकास मातहतको बागमतीको नदीको मुहानमा ड्याम बनाउन पवनले ठेक्का पाएका छन् । त्यो ठेक्का ६० करोड रुपियाँको छ ।

उक्त ड्यामलाई अवलोकन गर्न भनी झाक्रीको टिम शिवपुरी निकुञ्ज पुगेको थियो । महतोले शहरी विकास मातहतका थुप्रै योजना हात पारेका छन् । योजना हात पार्न उनले यस्तो तरिका अपनाउने गर्छन् । मन्त्री झाक्रीसँग महतो आफै पनि रिसोर्टमा पुगेका थिए ।

शुक्रबार साँझ नै आफ्नो निवासमा आउन पर्याप्त समय हुँदाहुँदै पनि मन्त्री झाक्री रिसोर्टमा बस्न मन पराइन । त्यहाँ उनी जिन्सको पाइन्ट लगाएर पुगेकी थिइन् । मन्त्री भइसकेपछि झाक्री ‘गुण्डा’ र ‘डन’को शैलीमा जिन्सको पाइन्टमा देखिएपछि धेरै जना आश्चर्यचकित परेका थिए ।

मन्त्रालयका एक कर्मचारी भन्छन, ‘त्यहाँ अवलोकनमा भन्दा खानपिन र नाचगानमा बढी समय खर्च भएको थियो ।’ मन्त्री झक्रीको टिमलाई खानपिन गराउने योजना ठेकेदार महतोले पहिले नै मिलाएका थिए ।

एकीकृत बागमती सभ्यता आयोजनाका अध्यक्ष उद्धव तिमिल्सिनाले यो सबै कामको चाँजोपाँजो गरेका हुन् । तिमिल्सना एमाले नेता महेश बस्नेतसँग निकट मानिन्छन् ।

एमालेको सरकारको बेला उनी अधिकार सम्पन्न बागमती विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । आफ्नो जागिरी जोगाउन उनले मन्त्रीलाई खुशी बनाउने गरको छन् ।

त्यसो त, शहरी विकासमा आउने वित्तिकै मन्त्री झाक्रीले शहरी विकाससचिव फेरेर एमाले नेता बस्नेत निकट मानिने मनिराम गेलाललाई ल्याइन् । गेलालको दाजु नवराज गेलाल एमालेबाट भक्तपुर जिल्लाका जिसस संयोजक हुन् ।

हालै सम्पन्न एमालेको महाधिवेशन उनले महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका थिए । मन्त्री झाक्रीले आफ्नो टिममा शहरी विकासको स्टोर हेर्ने एक जना कर्मचारीलाइ पनि लगेकी थिइन् ।

झाक्री शहरी विकासमा आउने वित्तिकै सचिव मात्र फेरिन । मन्त्रालय मातहतका १८ उच्च कर्मचारी सरुवा गरिन् । आकर्षक मानिने सबै ठाउँमा उनले आफ्नो मान्छे भर्ना गरेकी छिन् । समाचारका विषयमा प्रतिक्रिया लिन मन्त्री झाक्री र ठेकेदार महतोसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।