अध्यक्ष पद जितेका राजेन्द्र लिङ्देनले निर्मल निवासको भूमिकाबारे गरे यस्तो खुलासा

रामेछाप खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीत महाधिवेशन प्रतिनिधिहरुको मतका आधारमा भएको र यसमा निर्मल निवासको कुनै भूमिका नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशनबाट आएको नतिजालाई निर्मल निवाससँग जोड्नु दुःखद र आफ्ना नेता–कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको अपमान रहेको बताएका हुन्।

अध्यक्षमा पराजित भएका कमल थापाले आइतबार ट्वीटमार्फत निर्मल निवासको हस्तक्षेपका कारण आफू हारेको आरोप लगाएका थिए।
लिङ्देनले भने, ‘मैले केही दिनदेखि सामाजिक सञ्जाल हेर्न पाएको छैन। उहाँले त्यस्तो भन्नुभएको छैन होला। भनेको भए पनि अर्थ त्यो होइन होला भन्ने ठान्छु। यदि त्यस्तो भन्नुभएको हो भने त्यो आफ्ना नेता कार्यकर्तामाथिको अविश्वास र अपमान हो।’

अध्यक्ष लिङ्देनले राप्रपालाई एकताबद्ध बनाएर लैजाने पनि बताए। ‘विगतको इतिहास हेर्दा हरेक महाधिवेशनपछि पार्टी फुटेकाले अहिले पनि केही त्रास देखिन्छ। तर हामी फुट्ने ठाउँ नै छैन’, उनले भने, ‘पहाड पनि बगेर सकिएपछि जति बाढी आए पनि बग्ने चिज हुँदैन, अहिले राप्रपाको अवस्था त्यस्तै छ। यहाँभन्दा तल पुग्ने अवस्था छैन। अब त एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन।’

कमल थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीसहितका पार्टीका नेताहरुको अभिभावकत्वमा एकताबद्ध बनाएर आफू अघि बढ्ने उनले स्पष्ट पारे।

लिङ्देनले पार्टी अध्यक्षको कोठामा पदबहाली गरेनन्। ‘यो मेरो चाहनामा भएको हो। म अध्यक्षको कुर्चीमा बसेर देखाउनका लागि आएको होइन। त्यो कुर्ची कमल थापासहितका नेताका लागि सुरक्षित गरेको हुँ’, उनले भने, ‘उहाँहरु आएर बस्न सजिलो होस् भनेर हो।’ सञ्चार संवाददाता