योगेश भट्टराई दिए यस्तो चेतावनी : एमालेलाई जिस्काए परिणाम राम्रो आउँदैन

रामेछाप खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

फाइल फोटो
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन्। प्रेस चौतारी नेपालले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन्।

उनले एमाले र गैंडामा केही समानता भएको पनि दाबी गरे । ‘गैंडालाई जिस्काउन थाल्नुभयो, हिर्काउन थाल्नुभयो भने त्यसले तपाईँलाई छाड्दैन लखेट्छ,’ भट्टराईले भने, ‘एमालेलाई पनि कसैले जिस्कायो भने छाड्दैन, लखेट्छ।’

भट्टराईले आगामी निर्वाचनमा एमालेको स्पष्ट बहुमत आउने दाबी गरेका छन्। उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबी गरे । ‘शक्ति आर्जन गरेर चितवनबाट फर्केको छ । अब त्यसको आउटपुट चुनावमा आउँछ , एमालेको बहुमतनै हो,’उनले भने ।

एमालेको जस्तो शक्तिप्रदर्शन अरु दलले गर्न नसक्ने पनि भट्टराईलको दाबी छ । उनले चितवनमा नेता, कार्यकर्ता र जनतासहित ७ लाख मानिसको उपस्थिती रहेको बताए। यसअनुसार एमालेले इतिहासमै रेकर्ड कायम गरेको उनको दाबी छ। काँग्रेस र माओवादीले त्यति मानिसहरु उतार्न नसक्ने महशुृस गरेकै कारण महाधिवेशन र राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगर्ने निर्णय गरेको उनले बताए।

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ। प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित भएको हो। कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ का संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिए।

सर्लाहीमा प्रदेशका आठ वटै निर्वाचन क्षेत्र र जनकपुरमा विवाहपञ्चमी महोत्सव चलिरहेकाले प्रदेश अधिवेशन स्थगित गरिएको जानकारी दिए। ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन। विवाह पञ्चमी महोत्सव पनि चलिरहेको छ। यस्तो अवस्थामा निर्वाचन गराउनु सम्भव देखिएन,’ उनले भने।

सर्लाहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता अमरेश सिंह र सभापति शेरबहादुर देउवा पक्षका वीरेन्द्र सिंहबीचको टसलले केही वडामा समेत अधिवेशन सम्पन्न हुन सकेको छैन। बाँकी रहेको वडामा आज अधिवेशन जारी रहेको बताइएको छ। त्यसैगरी महोत्तरी, बारा र सप्तरीको १–१ वटा प्रदेश सभा निर्वाचन क्षेत्रको समेत अधिवेशन हुन सकेको छैन।

अधिवेशनको क्रममा महोत्तरी र सर्लाहीमा पटक/पटक झडप समेत भएको थियो। सर्लाहीमा अधिवेशनको लागि तेस्रो निर्वाचन अधिकृतले राजीनामा दिएपछि चौथो अधिकृत खटाइएको छ। त्यसैगरी महोत्तरीका मतदान अधिकृतले आफूलाई अपहरण गरिएको भन्दै राजीनामा समेत दिएका थिए।