लिङ्देनको शपथ ग्रहण कार्यक्रममा कमल थापा किन गएनन ?

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

फाइल तस्वीर
काठमाडौँ– राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई यो समाचार तयार पर्दासम्म थापा अनुपस्थित भएका छन् ।

कार्यक्रमबारे उहाँ (कमल थापा)लाई पनि जानकारी गराइएको थियो । तर, उहाँ आउनु भएको छैन’, राप्रपा नेता तथा अधिवक्ता सुजित केसीले भने, ‘उहाँ आउनुहुन्न कि जस्तो लाग्यो । कार्यक्रम भइरहेको छ । अहिलेसम्म आउनु भएको छैन ।’लिङ्देनको विजयमा पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेका थापा कार्यक्रममा सहभागी नभएका हुन् ।

थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका छन् ।

राप्रपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जानु पर्नेमा जोड दिएको छ । नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको बताएका हुन् ।

अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगारी सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताए ।

उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित छन् ।

महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तिकुमारी शाही निर्वाचित भएका छन् । पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भए पनि १४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनित गरिने छन् ।चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने छ । रासस