विजय जुलुस नमनाउनु, माला बोकेर नआउनु : नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जितमा विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। कमल थापालाई हराउँदै अध्यक्ष जितेपछि कार्यकर्तालाई सम्बोधनका क्रममा उनले भृकुटीमण्डपमा यस्तो भनेका हुन्।

‘विजय जुलुस निकाल्न पर्दैन। नाराबाजी गर्नुपर्दैन। माला बोकेर आउनुपर्दैन,’ लिङ्देनले सम्बोधनका क्रममा भने, ‘यो हाम्रो आन्तरिक चुनाव हो, आजबाट सकियो, अब हामी एउटा पार्टी भइसकेका छौँ।’

उनले विगतमा जे जसो भए पनि आजैदेखि राप्रपामा सबै गुट सकिएको बताए। ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो-भयो, त्यो अब सकियो’, उनले भने, ‘अब आजैदेखि हामी सबै एकै ठाउँमा छौँ, गुट अब सकियो। कोही कुनै पक्षमा छैनौँ।’

उनले आफ्नो विजयले अब राप्रपा एउटा पार्टीका रुपमा अघि बढ्ने पनि बताए। ‘हामीबीच अब कुनै गुट छैन। हामी सबै राप्रपाका हौँ, कसैले कसैलाई च्याप्नुपर्ने बाध्यता हट्यो’, उनले भने,’ ‘हाम्रो विजयका अनेकौँ आयाम र उपलब्धि छन्। हिजो हामी एउटा नेताको मान्छे भएर पार्टीको कार्यक्रममा जान्थ्यौँ। आजबाट हामी राप्रपाका कार्यकर्ता भएर सहभागी हुनेछौँ।’

लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको कमी कमजोरी सच्चाएर कांग्रेस र कम्युनिस्टको विकल्प मात्रै नभइ जनताको मन जित्ने पार्टी बनाउने वाचा पनि गरेका छन्।

‘हाम्रो पार्टी ३१ वर्षको इतिहासमा खिइँदै–खिइँदै कमजोर भएर अहिले सर्वाधिक नाजुक अवस्थामा आइपुगेको छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको हैसियतमा पनि छैन। हामीले विभाजित पार्टी फेरि एकीकरण गर्‍यौँ। एकीकरण गरेको दुई वर्ष बित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेत देखाउनु भएन।’