ओमिक्रोन भेरियन्टदेखि नआत्तिनुस : विश्व स्वास्थ्य संगठन

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

झण्डै ४० देशमा देखा परिसकेको ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्ष भन्दा अवस्था फरक रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने बताइन् ।

अझै पनि धेरै संख्यामा उत्परिवर्तित भएको याे भेरियन्ट संक्रामक छ वा छैन भन्ने स्पष्ट भइ सकेकाे छैन । रोयटर्स नेक्स्ट कन्फरेन्समा बोल्दै डा. स्वामीनाथनले यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको बताइन् । उनले यो भाइरसको प्रभाव विश्वभर पार्न सक्ने बताउँदै पूर्वअनुमान गर्न कठिन रहेको उल्लेख गरिन् ।

‘हामी कति चिन्तित हुनुपर्छ? हामी सतर्क र रहनुपर्छ, आत्तिनुभएन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं, ’ उनले भनिन् ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले उपलब्ध भएको कोभिड विरुद्धका खोपहरु निकै प्रभावकारी रहेको र सबैतिर व्यापक रुपमा खोप वितरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।