आन्द्रे रसेलको तुफान ओपनिङले लिगकै सबैभन्दा ठूलो साझेदारी बन्यो

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

फाइल फोटो
डेक्कन ग्लाडिएटर्सले अबु धाबी टि–१० लिगको पाँचौं सिजनको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा ग्लाडिएटर्सले दिल्ली बुल्सलाई ५६ रनले पराजित गरेको छ । डेक्कन ग्लाडिएटर्सको जीतमा क्यारेबियन अलराउण्डर आन्द्रे रसेलको मुख्य भूमिका रह्यो । रसेलले केवल ३२ बलमा ९० रनको तुफानी इनिङ खेले ।

सामान्यतया तल्लो क्रममा ब्याटिङ गर्ने रसेलले यो खेलमा ओपनिङ गरेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको डेक्कनले निर्धारित १० विकेटमा १ विकेट पनि नगुमाइ १५९ रनको स्कोर बनायो । आन्द्रे रसेलले ३२ बलमा ९० रन बनाए । उनले ९ वटा चौका र ७ वटा छक्का हाने । इङल्याण्डका ब्याटर टम कोहलर क्याडमोरले २५ बलमा ५ छक्का र ३ चौकासहित ५९ रन बनाए ।

१५९ रनको साझेदारी टि–१० लिगकै सबैभन्दा ठूलो साझेदारी हो । जवाफमा दिल्ली बुल्सले १० ओभरमा ७ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो । बंगाल टाइगर्सका हजरतुल्लाह जजाइ प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । उनले १२ खेलमा ५०.४२ को औसतमा ३५३ रन बनाए । डेक्कन ग्लाडिएटर्सका वानिन्दु हसरंगाले सबैभन्दा धेरै २१ विकेट लिए । हसरंगा प्लेयर अफ द टुर्नामेन्ट बने ।

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिख विजयी

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गतको खेलमा बायर्न म्युनिखले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बायर्नले डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । किङ्स्ले कोम्यानले एक गोल गरे ।डर्टमण्डका जुलियन ब्रान्ड र अर्लिङ हालाण्डले एक एक गोल फर्काएपनि खेलमा फर्कन भने सकेनन् । जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।बायर्नले १४ खेलमा ३४ अंक जोडेको छ । दोस्रो स्थानको डर्टमण्डको ३० अंक रहेको छ ।