राजेन्द्र लिङ्देनसँग पराजित भएका कमल थापाकी छोरी, भाई र भतिज राप्रपाको केन्द्रीय सदस्यमा विजयी

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

फाइल फोटो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य पदमा कमल थापाकी छोरी, भाई र भतिज राप्रपाको केन्द्रीय सदस्यमा विजयी भएका छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा, भाई गणेश थापा तथा भतिज अभिषेक थापा केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

महिला खुल्लातर्फ उम्मेदवारी दिएकी प्रतिष्ठाले उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन्। मत परिणाम अनुसार प्रतिष्ठाले १ हजार ५३० मत ल्याएकी हुन्। उनी पहिलो पटक राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

त्यस्तै, कमल थापाका भाई गणेश थापा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेशले खुल्लातर्फ उम्मेदवारी दिएका थिए। उनले १ हजार ३३२ मत ल्याउँदै जित हासिल गरेका हुन्। गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन्। अभिषेकले १ हजार ३२७ भोट ल्याएका छन्।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा बलायर निर्वाचित

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो । बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याएका थिए ।

पदाधिकारीमा बलायरको प्यानल नै विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का तथा सह महामन्त्रीमा गोपालदत्त भट्ट चिन्तामणि भट्ट र अम्बिकाकुमारी चलाउने विजयी भएका छन् ।