कुन्ती शाहीसँग कति मतले हारिन् रेखा थापा?

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

आफ्ना पक्षका उम्मेदवार राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष पदमा विजयी भए पनि अभिनेत्री रेखा थापा भने महामन्त्री पदमा हारेकी छन्। उनी अध्यक्षमा पराजित कमल थापा पक्षकी कुन्ती शाहीसँग चुनाव हारेकी हुन्। सार्वजनिक मतपरिणामअनुसार कुन्तीकुमारी शाहीले २००८ मत ल्याउँदा रेखा थापाले १६४० मत ल्याएकी हुन्।

अर्थात् नायिका थापा शाहीसँग ३६८ मतले हारेकी हुन्।

‘कुन्ती दिदी’लाई बधाई, चुनावी मैदानमा आरोप प्रत्यारोप सामान्य हो : रेखा थापा

राप्रपा महिला महामन्त्रीमा कुन्ती शाहीसँग पराजित भएपछि रेखा थापाले आफू पार्टीमा आएको चार वर्ष भएपनि सम्मानजनक मत पाएको प्रतिक्रिया दिएकी छन् ।
राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी रेखाले पार्टीमा २० वर्षदेखि सक्रिय कुन्तीले जित्नु स्वाभाविक भएको बताइन् ।

“कुन्ती दिदीलाई मेरो धेरै धेरै बधाई र शुभकामना छ । अब उहाँले राम्रोसँग काम गर्नुहुन्छ भन्ने अपेक्षा लिएकी छु । चुनावी मैदानमा आरोप प्रत्यारोप हुनु सामान्य प्रक्रिया हो । म पार्टीमा आएको भर्खर चार वर्ष भयो । दिदी २० वर्षदेखि पार्टीमा हुनुहुन्छ । पार्टीमा दिएको योगदानका हिसाबले दिदीले जित्नु स्वाभाविक हो । मैले अझ धेरै होमवर्क गर्नुपर्ने देखेकी छु । यो मत मेरा लागि विजयीको मत हो,” उनले भनिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भइन् ।