राजेन्द्र लिङ्देनः कालोमोसो दलियो, घरमा आगजनी गरियो, तर हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा कहिले छाडेनन्

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ। उनले कमल थापालाई पराजित गरेर पार्टीको नेतृत्वको जिम्मा लिएका हुन्।
वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन्।

विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्।

लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने। २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बने। स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष पनि भए। लिङ्देन वि.सं. २०६०/०६१ मा राजाका प्रत्यक्ष शासन कालमा जिविस झापाको सभापतिसमेत बने।

२०६२/६३ को जन-आन्दोलनका बेला उनलाई झापाको बिर्तामोडमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले कालोमोसो दले। उनको गोल्धापमा रहेको घर आगजनी गरेर ध्वस्त बनाइयो। केही समय अघि मात्र उनी गोल्धापमा रहेको घर मर्मत गरि त्यहाँ बसोबास गर्दैछन्।

उनी त्यहाँबाट बिस्थापित भएर बिर्तामोडमा बसोबास गरे। धेरै समय आफ्नै गाडी हाँक्दै यात्रु पनि बोके। तर सिद्धान्तमा अविचलित लिङ्देन राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा अडिग रहिरहे।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनले पराजय व्यहोरे। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए। साभार : देश सञ्चार