राप्रपा अध्यक्षमा पराजित भएपछी कमल थापाले बिहानै गरे यस्तो ट्वीट

रामेछाप खबर संवाददाता

१९ मंसिर, काठमाडौं ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो ।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए । अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन् । आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन् ।

लिङ्देन टिमबाट पदाधिकारीमा एकजना मात्रै निर्वाचित

काठमाडौँ – राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने ।

उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन् । कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन् । त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन् ।