अबको चुनावमा एमालेलाई लाइट बालेर खोज्ने बनाउँछौँ : माधव नेपाल

रामेछाप खबर संवाददाता

१८ मंसिर, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनमतको अपमान गर्ने केपी ओलीलाई चुनावपछि जनताले देखाइदिने बताएका छन्।
उनले चुनावपछि एमालेलाई लाइट बलेर खोज्नुपर्ने पनि उल्लेख गरे। अर्घाखाँचीको सन्धिखर्कमा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले ओलीले दुई पटक संसद विघटन गरेकाले बहुमत जनता एमालेको विपक्षमा रहेको दाबी गरे।

बागमतीमा भएको राष्ट्रिय सभा निर्वाचनबाट एमालेको पराजय र कलम चिन्हको जित सुरु भइसकेको पनि नेपालले बताए। ओलीको दम्भ, घमण्ड र सर्वसत्तावादी प्रवृत्तिले केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको पनि उनले बताए। संविधानको रक्षा गर्दै संसद जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओली पार्टी पत्तासाफ हुने ठोकुवा गरे।

सरकारमा रहेको पाँच दलीय गठबन्धनलाई अबको राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बचाएर लैजाने पनि उनले बताए। सरकारमा रहेकासहित अन्य दलसँग पनि सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

प्रचण्ड र महराले देखेको देश भित्र र बाहिरबाट ठूलो षड्यन्त्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलै षड्यन्त्र भइरहेको बताएका छन् । उनले गृहजिल्ला चितवनमा सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र भएको बताएका हुन् ।

प्रचण्डले षड्यन्त्रबारे बोलेकै दिन माओवादीका प्रवक्ता कृष्णबहादुर महराले पनि यसबारे बोले । उनी बुटवल पुगेर बाह्य शक्तिले सत्ता गठबन्धनविरुद्ध षड्यन्त्र गरिरहेको टिप्पणी गरेका हुन् ।

प्रचण्डले गठबन्धनलाई कमजोर पारेर परिवर्तन उल्टाउने सम्मको षड्यन्त्र भइरहेको बताए । महराले पनि सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागेको बताए । तर, उनले कुन विदेशी शक्ति खुलाएनन् ।

देशभित्र अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदमा टेबल गर्ने विषय चर्चामा रहँदा प्रचण्ड र महराको भनाई आएको हो । अर्कोतर्फ, प्रचण्ड प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन सत्ता गठबन्धनमा सहमति बनाउन लागिरहेका छन् ।

एमसीसीबारे २८ मसिरभित्र टुंगो दिन अमेरिकाले नेपालका शिर्ष नेताहरुलाई भेटेरै भनेको छ । अब यही विषयले सत्ता गठबन्धनको भविष्य निर्धारण गर्ने सम्मको अवस्था पैदा भएको छ । गठबन्धभित्र नेपाली काँग्रेस एमसीसीको पक्षमा छ । माओवादी र नेकपा एस यसको विपक्षमा देखिन्छन् । उनीहरुले एमसीसी संशोधनको शर्त राखेका छन् । तर, अमेरिकाले शर्तलाई नमानी टुंगो दिन २८ मंसिरको समयसीमा दिएको छ । यही दिन संसदको बैठक डाकिएको छ ।

एमसीसीको मुद्दा व्यवस्थापन गर्न नसके सत्ता गठबन्धन धरापमा पर्न सक्छ । यही बुझेर प्रचण्ड र महराले एक दिन फरक स्थानबाट देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र देखेका छन् ।