नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको छ : माधव नेपाल

रामेछाप खबर संवाददाता

१८ मंसिर, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावबाट नेकपा एमालेलाई देशबाटै पत्तासाफ पार्ने सल्लाह भइरहेको बताएका छन् । नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलामा गठबन्धनमा आगामी चुनावबाट एमालेलाई पत्तासाफ पार्ने सल्लाह भइरहेको अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौँ। चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’आगामी हुने राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धनबाटै साझा उम्मेदवार हुने पनि अध्यक्ष नेपालले बताएका छन् । ‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौँ,’ उनले भने ।

यदि कसैले गठबन्धन टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने पनि अध्यक्ष नेपालले बताएका छन्। उनका अनुसार अर्घाखाँचीमा उपचुनाव नभई एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको छ ।

यसैगरी अर्घाखाँचीमा एमालेलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन सहमति जुटिसेकेको पनि उनले खुलासा गरेका छन् । संविधान कुल्चिएर दक्षिणपन्थी बाटोतिर अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीको एमालेको भविष्य नरहेको पनि अध्यक्ष नेपालले बताए । साथै, एमालेको सूर्यमा ग्रहण लागिसकेको भन्दै त्यसले काम नगर्ने पनि अध्यक्ष नेपालले ठाकुवा गरे ।

सत्ता गठबन्धन फुटाउने चलखेल भइरहेको छः महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले वर्तमान सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको दावी गरेका छन् । रूपन्देहीको भैरहवामा शनिबार माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर सम्मेलन बोल्दै महराले संविधानलाई मिचेर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर गठबन्धन फुटाउन खोजेको बताए ।

तर, उनले विदेशी चाहिँ खुलाएनन् । महराले अहिले देशलाई नयाँ उर्जा र सन्देश दिने समय आएको उल्लेख गर्दै माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्ने जनाए ।अहिले पूर्व माओवादीबाट छुट्टिएका दल तथा नेताहरुलाई एकजुट बनाउने प्रयास समेत भइरहेको उनले बताए । ‘हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल चलाइएको छ’ उनले भने ।

महराले अहिले नेपालका राजनीतिक दलहरु दुई ध्रुवमा विभाजित भएको बताए । ‘तपाईंहरुले देख्नुभएको छ, एउटा समूह संविधानले प्रदान गरेका उपलब्धीहरू जोगाउने पक्षमा लागेको र अर्को ध्रुव फेरि राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धीहरु उल्टाउने अभियानमा लागेको छ,’ उनले भने ।

उनले माओवादीको ८ लाख पार्टी सदस्य रहेको बताउँदै यसलाई अझै बढाउनुपर्ने जनाए । तराईका समस्याका रुपमा रहेका लालपुर्जा र नागरिकताको विषयलाई आफूले ब्यक्तिगत रुपमा एवम् सिंगो पार्टीका तर्फबाट समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।