कञ्चनपुरमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

कञ्चनपुरमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्जुनी ब्यारेक नजिक जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना भएको हो ।

कञ्चनपुर दैजीबाट कृष्णपुरस्थित घर फर्किरहेको से १ त ३८४१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो । १४ जना घाइते भएकामा गम्भीर अवस्थाका ३ जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार कृष्णपुर नगरपालिका– ९ रैकवारका ५५ वर्षीय रनि राना, सोही ठाउँकी ६५ वर्षीया द्रोपती राना र ४४ वर्षीय रतनाकुमारी रानाको मृत्यु भएको हो ।गम्भीर घाइते भएका चालक रामप्रशाद रानाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दैजिमा जन्तीको भोज खाएर कृष्णपुरस्थित घर फर्किंदा दुर्घटना भएको थियो ।

नेपाली काँग्रेस प्रदेश १ सभापतिमा दुईजनाको उम्मेदवारी

काठमाडौं – नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि शुक्रबार (आज) दुई जनाले मनोनयनपत्र दर्ता गरेका छन्। सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिए।

यसैगरी दुई उपसभापतिका लागि गोविन्द ढुङ्गाना, रमेजजङ्ग रायमाझी, टङ्क राई र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन्। दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गरेका छन्। सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गएका छन्।

उक्त पदका लागि भोलि बिहान आठ बजेदेखि मतदान शुरु हुने नेका मोरङका सचिव मोदराज घिमिरेले बताए। प्रतिनिधि छान्नका लागि एक हजार ७०० प्रदेश प्रतिनिधिले मतदान गर्ने छन् ।