ओमिक्रोनको खतराबीच दक्षिण अफ्रिकीबाट आएका १० जना फोन अफ गरेर बेपत्ता

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

भारतको कर्नाटक राज्यको बैंगलुरुमा दक्षिण अफ्रिकी देशबाट भारत आएका १० जना विदेशी नागरिक बेपत्ता भएका छन् । बैंगलुरु महानगरपालिका र स्वास्थ्य अधिकारीहरुले उनीहरुसँग सम्पर्क गर्न सकिरहेका छैनन् ।

हिजो मात्र बैंगलुरुमै भारतको पहिलो ओमिक्रोन संक्रमणको केस भेटिएको थियो । ती संक्रमित पनि दक्षिण अफ्रिकाबाट आएका थिए । यस्तोमा दक्षिण अफ्रिकाबाटै आएका १० जना बेपत्ता भएपछि प्रशासन आत्तिएको छ ।

यी सबै विदेशी नागरिकको दक्षिण अफ्रिकी देशबाट ट्राभल हिस्ट्री पाइएको छ । तर, सबेभन्दा चिन्ताको विषय यी सबैको मोवाइल फोन स्विच अफ छ । यस्तोमा यिनीहरुलाई ट्रेस गर्न सकिएको छैन ।

बैंगलुरु महानगरपालिकाका कमिश्नर गौरव गुप्ताले सबै विदेशी नागरिक दक्षिण अफ्रिकी देशबाट आएको बताएका छन् । उनीहरुको मोवाइल फोन स्विच अफ छ । स्वास्थ्य विभागले उनीहरुको खोजी गरिरहेको छ ।

ओमिक्रोन भेरिएन्टको पुष्टि भएपछि दक्षिण अफ्रिकाबाट ५७ जना भारत आएका छन् । प्रशासनले यीमध्ये १० जनालाई फेला पार्न सकेको छैन । उनीहरुको फोन पनि अफ छ । यी यात्रुहरुले विमानस्थलमा आफ्नो भारतमा बस्ने अस्थायी ठेगाना लेखाएको भए पनि ती ठेगानामा उनीहरु भेटिएनन् । डिसी नेपाल