एमालेबाट निकालिएकाहरूलाई संसद्‌मा स्वीकारिँदैन : ओली

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेका व्यक्तिहरूलाई संसद्‌मा स्वीकार्न नसकिने बताएका छन् । शुक्रबार दोस्रोपटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले प्रश्न गरे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसद्‌भित्र राखेर कसरी संसद् चल्न सक्छ ?’

उनीहरू पुनः संसद्‌मा छिरे स्वीकार्न नसकिने उद्घोष गर्दै ओलीले थपे, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू फेरि संसद्मा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ ।’ एमालेले गत साउन २३ गतेबाट बोलाइएको संसद् अधिवेशनअन्तर्गतको सबै प्रतिनिधि सभा बैठकहरू अवरुद्ध गर्दै आएको छ ।

यसपछि सरकारले पुनः मंसिर २८ गतेका लागि दुवै सदनको बैठक बोलाएको छ । पुनः एमालेले बैठक अवरुद्ध गर्छ ? भन्ने प्रश्नमा प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘त्यो संसदीय दलको बैठक बसेर टुङ्ग्याउँछौँ । हाम्रो माग-मद्दाको सम्बोधन भएको छैन । यस्तोमा अब के गर्ने भन्नेबारे संसदीय दलको बैठकले निर्णय गर्छौँ र अगाडि बढ्छौँ ।’

पार्टी फुटाएर एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालसहित १४ जना सांसदलाई एमालेले कारबाही गरेको थियो । तर, त्यसलाई निर्वाचन आयोग र सभामुखले सदर गरेका थिएनन् । यसपछि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

गुरुराज घिमिरे र उद्धव थापाले दिए प्रदेश सभापतिमा उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाले उम्मेद्वारी दर्ता गराएका छन्। उनीहरूले शुक्रबार विराटनगरस्थित कांग्रेसको निर्वाचन कार्यालयमा अध्यक्ष पदको मनोनयन दर्ता गराएका हुन्। घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोईराला पक्षको तर्फबाट तथा थापाले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट उम्मेद्वारी दिएका छन्।

प्रदेश सभापतिका प्रत्यासी घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी पौडेल निकट छन्। त्यस्तै, अर्का प्रत्यासी थापा भने झापाका पूर्वसभापति हुन्। उनी सिटौला निकट नेता हुन्।

उम्मेदवार चयनमा ढिलाइ हुँदा बिहीबार उद्घाटन हुने तय गरिएको अधिवेशन शुक्रबार सारिएको थियो। उद्घाटनसँगै चुनावी प्रक्रिया पनि थालिएको हो। दुवै पक्षले प्यानलसहित उम्मेदवारी दिएका छन्।

प्रदेश अधिवेशनले एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिलासहित तीन सह-महामन्त्री र सदस्य चयन गर्नेछ।