यी देशबाटआउने यात्रुलाई नेपाल प्रवेशमा रोक , यस्तो छ कारण

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

भारतमा ओमिक्रन देखापरेपछि नेपालमा आउने केही देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन भेटिएसँगै नेपालमा आउने ९ देशका यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको हो ।

दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, हङकङ र मलावीबाट याुत्रहरुलाई प्रवेश गर्न नदिने बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

साथै उक्त देशहरुबाट ट्रान्जिट भएर नेपाल आउने यात्रु र ३ हप्ताभित्र ती देशमा भ्रमण गरेर आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

भारतमा कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भेटिएको छ । कर्नाटक राज्यमा दुई संक्रमितमा यो प्रजातिको भाइरस भेटिएको छ । ६६ र ४६ वर्षका दुई पुरुषमा भाइरस भेटिएको हो । २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रन कोरोना भाइरस यूरोपमा फैलिइसकेको छ ।

भारतमा ओमिक्रन देखापरेपछि सरकारले सतर्कता अपनाएको छ । सरकारले ओमिक्रन भाइरस भेटिएका हङकङ, दक्षिण अफ्रिका, नेदरल्यान्डसहितका नागरिकलाई नेपाल आउन रोक लगाएको छ ।

यसैगरी, ओमिक्रन तिव्र गतिमा फैलने गरेको तथ्य फेला परेको छ । दक्षिण अफ्रिकामा बितेको २४ घन्टामा संक्रमितको संख्या दोब्बर भएको छ ।