कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी

रामेछाप खबर संवाददाता

१७ मंसिर, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि आज बोर्डको बैठक बस्दैछ । बैठकले आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माकाअनुसार एकरदुई दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

बोर्ड बैठकले आजै नतिजा निकाल्ने निर्णय पनि गर्न सक्नेछ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो । परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएपछि परीक्षा दिन नभएका विद्यार्थीका लागि आउँदो बुधवारसम्म परीक्षा सञ्चालन हुने छ । हिजोदेखि छुटेका विद्यार्थीहरुका लागि परीक्षा सुरु भएको हो । परीक्षा सकिएको १० दिनभित्र नतिजा निकाल्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ ।

६ वटा प्रदेशमा मनोनय दर्ता गरिँदै, प्रदेश २ को अनिश्चित

नेपाली कांग्रेसको प्रदेश महाधिवेशन अन्तर्गत आज प्रदेशहरुमा मनोनय दर्ता हुँदैछ । प्रदेश महाधिवेशनको उद्घाटन भने बिहीबार भइसकेको छ । २०७५ सालमा संसोधित विधान अनुसार पहिलोपटक पार्टीको प्रदेश महाधिवेशन हुन लागेको हो । प्रदेश कार्यसमितिमा १ सभपातिसहित २ उपसभापति २ महामन्त्री र एक महिलासहित ३ महामन्त्री रहने पार्टीको विधानमा व्यवस्था छ ।

विधान अनुसार आज सातै प्रदेशमा विभिन्न पदका आकांक्षीहरुले उमेदवारी दर्ता गर्नेछन् । मतदान प्रकृया भने भोलि (शनिबार) हुनेछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका समितिले ६ प्रदेशमा मतदाता नामावली पठाइसकेको छ ।

यता, प्रदेश २ मा भने आज मनोनय दर्ता हुने संभावना छैन । सचिव श्रेष्ठका अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको नाम केन्द्रले पठाउन सकेको छैन ।

“प्रदेश–२ का सम्पूर्ण जिल्लाबाट प्रतिनिधिहरुको विवरण आइनसकेकाले हामीले नामावली पठाउन नसकेका हौं, सायद आज मनोनय दर्ता हुँदैन यसको अर्थ महाधिवेशन केही दिन सर्न सक्छ,” उनले बाह्रखरीसँग भने ।