रामेछाप जिल्ला अस्पतालमा आजदेखी पिसिआर ल्याब सन्चालनमा

रामेछाप खबर संवाददाता

१६ मंसिर, रामेछाप।

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब सन्चालनमा आएको छ । अब जिल्ला अस्पताल रामेछापमै पिसिआर परीक्षण हुने भएको छ । कोरोना भए नभएको भनेर थाहा पाउन गरिने पिसिआर परीक्षण आजदेखी जिल्ला अस्पतालमै सुरु भएको हो ।

केहि महिना अघि नै उक्त पिसिआर ल्याबको उद्धघाटन भएको भएपनि जनशक्तिको अभावले सन्चालनमा आउन सकेको थिएन । जनस्वास्थ्य प्रयोगशाला बाग्मती प्रदेशका निमिक्त निर्देशक नारायण कार्की सहितको टोली जिल्ला अस्पताल रामेछाप आएर आजैदेखी पिसिआर ल्याब सन्चालनमा ल्याइएको हो ।

निमिक्त निर्देशक कार्कीका अनुसार पिसिआर ल्याब सन्चालन गर्न दुई जना दक्ष जनशक्ति बाग्मती प्रदेश सररकारले व्यवस्थापन गरेको हो । पिसिआर ल्याबमा हरेकपटकमा ९६ वटा गरी दैनिक १२ पटकसम्म परीक्षण गर्ने क्षमताको मेसिन जडान गरिएको छ ।

रामेछाप जिल्लामै पहिलो पटक जिल्ला अस्पतालमा पिसिआर ल्याब सन्चालनमा आएपछि निकै खुशी लागेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो ।

जिल्लामा ढिलै भएपनि ल्याब सन्चालनमा आएपछि अन्यत्र जिल्लामा स्वाब पठाउनुपर्ने र ढिलो रिपोर्ट आउने समस्या अब समाधान हुने उहाँले बताउनुभयो । नागरीकहरुलाई कोरोना सम्बन्धि कुनै मिल्दो जुल्दो लक्षण देखिएमा अस्पतालमा आएर पिसिआर परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो ।

अब पिसिआर परीक्षण गरेको ५ घण्टामै रिपोर्ट पोजेटिभ वा नेगेटिभ आएको थाहा पाईने छ । यस अघि जिल्लामा पिसिआर ल्याब नुहँदा स्वाब संकलन गरेर काठमाडौँ,धुलिखेल लगायत अन्यत्र पठाउनुपर्ने बाध्यता थियो ।

जसका कारण रिपोर्ट आउन ५ देखी ६ दिन लाग्थ्यो । अब भने यो समस्या समाधान भएको छ । जिल्ला अस्पताल रामेछापमै पिसिआर ल्याब सन्चालनमा आएपछि रामेछापवासी पनि खुशी भएका छन । ई–रामेछाप डटकमबाट साभार