रामेछापमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

रामेछाप खबर संवाददाता

१६ मंसिर, रामेछाप।

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रामेछापमा एक युवालाई पक्राउ गरेको छ । एक साताअघि १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोठगाउँका ३२ वर्षीय नवराज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

पीडित परिवारले प्रहरीमा उजुरी गरेपछि कार्कीलाई सोमबार साँझ रामेछाप नगरपालिका-१ बाट पक्राउ गरेको थियो । कार्की विरुद्ध जबरजस्ती करणीको अभियोगमा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद लिई हिरासतमा राखिएको डीएसपी ढुंगानाले बताए ।

जनकपुरमा बालिकालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका– ४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र ३२ वर्षीय अरुणकुमार महरा रहेका छन्।

आरोपितहरुमाथि पीडित बालिकाकी सानीआमाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा आरोपितहरुले भतिजी पर्ने बालिकालाई जनकपुरको शिवचौकस्थित एक होटलमा बन्धक बनाएर असोज ३ गतेदेखि ६ गतेसम्म जबर्जस्ती करणी गरेको आरोप छ।

पक्राउ परेकामध्ये जितेन्द्रलाई तीनदिन अघि जनकपुरबाट र अरुणलाई बिदेह नगरपालिकाबाट बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

जिल्ला अदालत धनुषाबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको बस्नेतको भनाई छ।