राप्रपामा उम्मेदवारका लागि शुल्क तोकियो, कुन पदमा कति?

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जारी महाधिवेशनमा उम्मेदवारका लागि शुल्क तोकेको छ। जसका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनेले एक लाख रुपैयाँ तिर्नुपर्ने भएको छ। एकता महाधिवेशन बिहीबारबाट राजधानीमा जारी छ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

राप्रपाको केन्द्रीय सदस्यमा पाठक र पाण्डेद्वारा उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा युवा नेताद्वय जनकराज पाठक र सुन्दर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको काठमाडौंमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ ।
नुवाकोटका दुबै नेता डा प्रकाशचन्द्र लोहनी निकटका मानिन्छन् भने उनीहरुले युवाको नेतृत्वबाट मात्रै राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउन सकिने बताउँदै आएका छन् ।

पाठक राप्रपाको स्थापनाकालदेखि नै सक्रिय व्यक्तित्व हुन् भने हाल उनी सहायक पार्टीको केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रचारविभाग सदस्यको भूमिकामा रहेका छन् । पार्टीभित्र सबैसामु परिचित र प्रिय रहेका पाठकले कर्तव्यनिष्ठ र उर्जावान राप्रपा निर्माणका लागि भूमिका निर्वाह गर्न आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताए ।

उनले राजसंस्था र हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्लातर्फ) विजयी गराउन आग्रह गरे । यस्तै पाण्डेले पनि राप्रपालाई बलियो शक्ति बनाउन युवाहरुको उपस्थिति जरुरी हुने भएकाले केन्द्रीय सदस्य (खुल्ला) तर्फ उम्मेदवारी घोषणा गरेको बताए ।