परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याइयाे : प्रचण्ड

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले प्रतिगमनलाई असफल बनाएको बताएका छन् । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा यस्ताे बताएका हुन् । प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको उनकाे भनाइ छ।

उनले भने,‘गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौं जनता परिचालित गर्‍यौं र त्यो प्रतिगमनलाई असफल बनायौं । जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो ।’

जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागू गरिसकेको भन्दै उनले आफूहरूकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे ।

अनेरास्ववियुद्धारा त्रिवि पदाधिकारीको कार्यालयमा तालाबन्दी

नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटालगायत पदाधिकारीको कार्यकक्षमा ताबन्दी गरेको छ ।

करार उपप्रध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय गरेको भन्दै अनेरास्ववियुले उपकुलपति बास्कोटासहित शिक्षाध्यक्ष र रजिष्टारको कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र कार्यबहाक संयोजक अम्मराज जोशीले विज्ञप्ति जारी गर्दै करारलाई स्थायी गर्ने निर्णय फिर्ता लिई उपप्रध्यापक पदका लागि खुला परीक्षा सञ्चालन गर्न माग गरेका छन् । माग सुनुवाइ नभएसम्म तालबन्दी कायमै रहेन उनीहरूले बताएका छन् ।