नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ जनाको मृत्यु, मृतकमध्ये अधिकांश बालबालिका

रामेछाप खबर संवाददाता

१६ मंसिर, काठमाडौं ।

सांकेतिक तस्विर
उत्तर पश्चिमी नाइजेरियामा डुंगा दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । उक्त डुंगामा दर्जनौँ यात्रु सवार रहेको र तीमध्ये अधिकांश बालबालिका रहेको उद्धारमा संलग्न राष्ट्रिय निकाय तथा सुरक्षाकर्मीले जनाएका छन् ।

उनीहरूका अनुसार सो डुंगा ओभरलोडेड थियो । दुर्घटनामा परी अन्य करिब एक दर्जन हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

मंगलबार कानो राज्यमा उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको डुङ्गामा अत्यधिक भार भएको र खराब मौसमका कारण नदीमा आएको बाढीका कारण डुङ्गाले सन्तुलन गुमाएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अध्ययनले देखाएको छ ।

‘हामीले अहिलेसम्म कूल २९ मृत शरीर पानीबाट बाहिर निकालेका छौँ र अझै बाँकी १३ जनाको अवस्था पत्ता लगाउन लागिपरेका छौँ,’ कानो राज्यका अग्नि सेवाका प्रवक्ता सामीनु अब्दुल्लाहीले बुधबार बताए ।

गत राति २० जना र बुधबार बिहान नौ जनालाई मृत अवस्थामा नदीबाट निकालिएको थियो । उक्त दुर्घटनामा परी घाइते अवस्थामा रहेका सात जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको छ । अब्दुल्लाहीले भने, ‘१२ वयस्क व्यक्ति बोक्ने क्षमता रहेको डुङ्गामा क्षमताभन्दा बढी धेरै केटाकेटीहरूलाईराखिएको पुष्टि भएको छ ।’