अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने ?

रामेछाप खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्। उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ। उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ।

त्यस्तै कमल थापा प्यानलबाट कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै थापा प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे, जयन्त चन्द, रोशन कार्कीलगायतको नाम चर्चामा छ भने लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम उपाध्यक्षमा चर्चा छ।

राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ।

भैरहवामा प्रदेश अधिवेशन गर्दै लुम्बिनी कांग्रेस, गृहमन्त्री खाँड पनि सहभागी हुने

काठमाडौं- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचनको तालिका अनुसार रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा मंसिर १६ गते दिउँसो १२:३० बजे प्रदेश अधिवेशन उद्धाटन हुनेछ।

गृहमन्त्री बालकृष्ण खाँडले प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए। जोशीका अनुसार १६,१७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रदेश संरचना अनुसार कांग्रेसको यो पहिलो प्रदेश अधिवेशन हो। १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय भएको छ।
प्रदेशभरका १५ सय ८५ जना प्रतिनिधिले मतदान गर्ने छन्। अधिवेशनमा ३ हजार बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिए।

गैरेले बाहिरी जिल्लाबाट सहभागी हुन आउनेहरुको लागि खाने र बस्ने व्यवस्था गरिएको जानकारी दिए।