ओलीतर्फ संकेत गर्दै लालबाबु पण्डितले लेखे निकै मार्मीक स्टाटस

रामेछाप खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीमा नसमेटिएका नेता लालबाबु पण्डितले निकै मार्मीक स्टाटस लेखेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै महाभारत र इतिहास पढ्नुको साथै सम्झन ओलीलाई आग्रह गरेका छन् । नेकपा एमालेको नयाँ केन्द्रीय कमिटी चयन भएको भोलिपल्ट बुधबार बिहानै नेता लालबाबु पण्डितले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

चितवनमा आयोजित पार्टीको दसौं महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सूचीमा नसेमेटेपछि उनले अब एमालेका सबै कार्यकारी पदबाट बिदा लिएर साधारण सदस्यको हैसियतमा बस्ने घोषणा गरेका थिए । तर भोलीपल्टै उनले सामाजिक सञ्जालमा निकै विरक्तलाग्दो कुरा लेखेका हुन्।

‘गंगापुत्र भीष्म राष्ट्र र वंशीय राज्य सत्ताको लागि जति नै पवित्र विचार राखेर अघि बढ़े पनि आफ्नै वंशका आफ्नै प्रिय पात्रबाट अति नै दुःखदायी मृत्यु वरण गर्नुपरेको इतिहास साक्षी रहेको छ’, पूर्वमन्त्रीसमेत रहेका पण्डितले लेखेका छन्, ‘त्यसैले महाभारत र इतिहास पढ्नुको साथै सम्झनु जरुरी रहेछ।’

एमाले अध्यक्ष ओलीलाई बधाई दिदै यसो भने डा. बाबुराम भट्टराईले

एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले बधाई दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओली र उनको टिमलाई बधाई दिएका हुन् ।

उनले विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

उनले लेखेका छन् – “नेकपा (एमाले) महाधिवेसनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र वहाॅको टिमलाई हार्दिक वधाइ! विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना!”

ओलीले अध्यक्षमा उठेका अर्का नेता डा भीम रावललाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् । निर्वाचनमा दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १८०८ मत ल्याएका हुन् भने रावलले २२३ मत ल्याएका हुन् ।