कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पत्ता लगाउने डाक्टर के भन्छन् ?

रामेछाप खबर संवाददाता

१५ मंसिर,नयाँ दिल्ली ।

विश्वका दर्जनौं मुलुकमा कारोनाको उत्परिवर्तित भाइरस ‘ओमिक्रोन’को संक्रमण फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले ‘ओमिक्रोन’को संक्रमणले विश्व नै उच्च जोखिममा रहेको घोषणा गरेको छ ।

दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अहिले बेलायत, हङकङ, इजरायल, बेल्जियमलगायत दर्जनौं मुलुकमा फैलिसकेको छ । पछिल्लो पटक दक्षिण कोरियामा समेत ओमिक्रोन भाइरसको संक्रमण देखिएको छ। डब्लूएचओको घोषणा पछि विश्वका धेरै मुलुकले सजकता अपनाउँदै अफ्रिकी मुलुकहरुसँगको हवाई सम्बन्ध अस्थायी रुपमा विच्छेद गरेका छन् ।

कोरोना भाइरसको उत्परिवर्तित रुप पत्ता लगाउने दक्षिण अफ्रिकी चिकित्सकले भने विश्वले ओमिक्रोनको बारेमा अनावश्यक प्रचार गरेको बताएका छन् । दक्षिण अफ्रिकाका डा.एन्जेलिक्यु कोट्जीले ओमिक्रोनको बारेमा अनावश्यक प्रचार भइरहेको र त्यसले सर्वसाधारणमा त्रास बढाएको बताएका छन् ।

विश्वले ओमिक्रोन भाइरसलाई चाहिने भन्दा बढी प्रचार गरेको र जुन अनावश्यक भएको डा.कोट्जीको भनाइ उदृत गर्दै भारतीय संचारमाध्यम इन्डिया टीभीमा समाचार छ। ‘ओमिक्रोन भाइरसबाट संक्रमित बिरामीहरु सामान्य अवस्थामा भेटिएका छन् । ओमिक्रोनबाट संक्रमितहरु निको भएका छन् । संक्रमितहरु अस्पतालमा भर्ना भएका छैनन् । उनीहरुमा अक्सिजनको कमी भएको मैलै भेटेको छैन । ओमिक्रोनको बारेमा गतल प्रचार गर्नुको कुनै अर्थ छैन,’ डा. कोट्जीले भने ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका कतिपय मुलुका प्रमुखहरुले ओमिक्रोनलाई भयाभहको संज्ञा दिँदै त्यसको संक्रमण फैलिन नदिन सजकता अपनाएका छन् ।

यद्यपी, नयाँ भेरियन्टबारे विज्ञहरुले अध्ययन जारी राखेका छन् । विश्वका वैज्ञानिकहरु ओमिक्रोन भाइरसको प्रकृति, संक्रमण फैलने खतरा, खोपको प्रभावकारिताबारे अध्ययन गरिरहेका डब्लूएचओली भनेको छ । साभार : annapurna post