दोलखामा एकै परिवारका ३ जना मृत फेला, कसरि भयो यस्तो घटना ?

रामेछाप खबर संवाददाता

१५ मंसिर, काठमाडौं ।

दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको बताएका छन् । प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ । घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुन र नगदसहित दुई युवक पक्राउ
प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो.समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।