भीम रावलले किन लिएनन् केन्द्रीय सदस्यको शपथ ?

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)का नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट उठेनन्।

रावलले यसअघि नै केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी नदिएको बताउँदै शपथ पनि नलिने बताएका थिए। अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए। रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए।

ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित, कसले कति मत पाए?

नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचिन भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार ओलीले १८३७ मत पाएका छन् भने रावलले २२३ मत पाएका छन्।

निर्वाचनमा २०९६ मत खसेका थिए। जम्मा २१५३ मतदाता रहेका थिए। एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्वाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा १७६८ मत लिएर विजयी भएका छन्।

उपाध्यक्ष उम्मेदवार घनश्याम भुसाल ७२५ पाएका छन्। उपाध्यक्षको ६ पदका लागि सात जना उम्मेदवार रहेका थिए। त्यस्तै, महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिवमा पनि प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।

सचिवमा गोकर्ण विष्ट १९७४, योगेश भट्टराई १९६०, टोपबहादुर रायमाझी १८०४, छविलाल विश्वकर्मा १८०३, पद्मा अर्याल १७९९, लेखराज भट्ट १७०४ र रघुवीर महासेठ १५०० मत प्राप्त गरेर विजयी भएका छन्।

सचिवका उम्मेदवार भीमप्रसाद आचार्यले ७८८ र टंकप्रसाद कार्कीले ५५९ मत प्राप्त गरेका छन्। सचिवको सात पदमा नौ जना उम्मेदवार रहेका थिए।