अध्यक्षमा पराजित भीम रावल एमाले केन्द्रीय सदस्यमा विजयी

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा एमालेको पदाधिकारीमा पराजित तीन जना नेता केन्द्रीय सदस्यमा विजयी भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल तथा सचिवमा उम्मेदवारी दिएका भीम आचार्य केन्द्रीय सदस्यमा विजयी भएको एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

निर्वाचनमा पदाधिकारीमा उम्मेदवारी दिएका सबै केन्द्रीय सदस्यमा स्वत: उम्मेदवार भएको उनले बताए । केन्द्रीय सदस्यमा निर्वाचित भएपनि रावलले भने आफू उम्मेदवार नै नरहेको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।

तर, निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी कायम नै रहेकाले निर्वाचित भएको घोषणा सुब्बाले गरे । सचिवमा उम्मेदवारी दिएका टंक कार्की भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी एमालेको उद्घोष, १७ बुँदे प्रस्ताव पारित

नेकपा एमालेको दशौं महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा आगामी महाधिवेशनबाट एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने अठोट गरिएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउने महाधिवेशनको अठोट रहेको बताए ।

औपचारिकता पूरा गर्नको लागि मात्र महाधिवेशन नगरेको उनले दाबी गरे । महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ ।

महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।