‘केन्द्रीय सदस्य नभएपनि केपी ओलीको साथ छोड्दिन’ : दुर्गा प्रसाईं

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

फाईल फोटो /
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएसंगे १० औं महाधिवेशन आज सकिएको छ । चितवनमा आयोजित महाधिवेशनमा चर्चाको पात्र बनेका थिए व्यवसायी तथा नेता दुर्गा प्रसाईं ।

टिकटकदेखि सामाजिक संजालमा सबै भन्दा बढी पोष्ट दुर्गा प्रसाईंसंगै कै देखियो । महाधिवेशनमा नेताहरुसंग भन्दा बढी युवाहरु दुर्गा प्रसाईंसंग सेल्फी र टिकटक खिच्न झुमिएका थिए । युवापुस्ता माझ दुर्गा प्रसाईंको काम र बोलीले ठूलो प्रभाव पारेको थियो तर एमाले पार्टीभित्र अझै उनको प्रभाव बलियो हुन सकेन जसको कारण उनले यो पल्ट केन्द्रीय सदस्य पाएनन् ।

महाधिवेशन स्थल तर्फ पुगेपछि दुर्गा प्रसाईंले केन्द्रीय सदस्यमा उमेद्वारी दिएर नै लड्छु र जित्छु भन्ने सोचेर मिडियासंग उमेद्वारी दिने घोषणासम्म गरेका थिए । उमेद्वारी बारे उनले एमालेका शिर्ष नेताहरुसंग छलफल समेत गरेका थिए । तर बन्द सत्रमा जब पदाधिकारी चयन गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिइयो, दुर्गा प्रसाईंको निर्वाचनमा लड्ने योजनामा ब्रेक लाग्यो । अनि आफ्नो हजुरबुवा तथा अध्यक्ष केपी शर्मा ओलीको भरमा बसे ।

आफ्नो हजुरबुवा नै पर्ने भएपनि दुर्गा प्रसाईंले केपी ओलीलाई न भेट गरे न नै फोन गरेर मलाई केन्द्रीय सदस्य बनाउनु भने । दुर्गा प्रसाईं भन्छन, “म चितवनमा हुँदा मलाई भेट्ने सबैले तपाई त केन्द्रीय सदस्य पक्का भन्नुहुन्थ्यो । म व्यापारी भएको कारण र केपी ओलीको नाती भएको कारण फोन गरेर वा भेटेर आफूलाई बनाउन आग्रह गरिसक्नु भयो होला अनि हजुरबुवाले त्यत्ति त गरिहाल्नु हुन्छ नि । तर मैले बन्द सत्र पश्चात हजुरबुवासंग एकचोटी बाटोमा स्वागत गर्न मात्र देखादेख भएको थियो । त्यो बेला त न मैले केही बोल्न पाएँ न आग्रह गर्न । अनि मैले एकचोटी फोन पनि गरिन किनकी म निर्वाचनबाट लडेर जित्न त तयार भएको मान्छे किन आग्रह गर्नु भनेर चूप बसें ।”

आफ्नो हजुरबुवा अध्यक्ष हुँदा र वहाँ कै हातमा आफ्नो केन्द्रीय सदस्य हुँदाहुँदै अहिले भन्नुपर्ने रहेछ भनेर पछुतो लागेको छैन भनेर प्रश्न गर्दा दुर्गा प्रसाईंले भने, “हेर्नुस म व्यवसायी मान्छे हुँ तर राजनीतिमा आकर्षण हुनु भनेको देश विकास गर्ने ठाउँ यहि हो त्यसैले विकास प्रेमी मान्छेलाई राजनीतिले तानेको हो । केन्द्रीय सदस्य नहुँदा दुख लाग्यो तर पछुतो भने लागेन । मलाई थाहा थियो हजुर बुवाको अगाडि रोई कराई गरेको भए पाउथे होला तर अहिले मैले जबरजस्ती गर्दा भोली मैले हजुरबुवालाई गल्ती गर्दा प्रश्न उठाउन पाउदिन नि । सायद मैले पार्टीलाई अझै योगदान गर्नु भनेर अध्यक्षले चयन गर्नुभएन । म अझै सशक्त रुपमा पार्टीको लागि काम गर्छु र अर्को पल्ट केन्द्रीय सदस्य बन्छु ।”

केपी ओलीको नाती बनेर भन्दा पनि लायक पार्टीको नेता बनेर केन्द्रीय सदस्य पाउँछु भनेर आफूलाई कुनै पछुतो नभएको नेता प्रसाईंले खुलाएका छन् । अब केपी ओली फेरि अध्यक्ष बन्नु भएकोमा खुशी हुँदै भने, “हजुरबुवा फेरि अध्यक्ष हुनुभयो अब वहाँलाई प्रधानमन्त्री बनाउन म देश दौडाहा गर्छु । अब पार्टीको लागि म योगदान गर्छु । युवाहरुले दिएको मायालाई कदर गर्दै म देश विकास तर्फ आफ्नो पाईला चाल्छु ।”