एमाले उपाध्यक्षमा ओलीकै टिम निर्वाचित

रामेछाप खबर संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) को उपाध्यक्षमा केपी शर्मा ओलीकै टिम निर्वाचित भएको छ। मंगलबार भएको निर्वाचनमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डेय, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा निर्वाचित भएका छन्। उपाध्यक्षमा उम्मेदवार बनेका घनश्याम भुसाल पराजित भएका छन्।

पछिल्लो मतगणना अनुसार, शाक्यले १९७६, पाण्डेले १९२५, नेम्बाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र थापाले १७६८ मत पाएका छन्। भुसालले ७२५ मत पाएका छन्।

अब थोरै मत गणना गर्न मात्रै बाँकी रहेको आयोगले जनाएको छ। निर्वाचनमा २०९६ मत खसेका थिए। एमाले केन्द्रीय निर्वाचन आयोगले उपाध्यक्षमा निर्वाचित भएको घोषणा गर्न बाँकी छ।

भारी मतसहित एमालेमा दोस्रोपटक ओली विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् । निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।